विराटनगर। असोजको अन्त्यसँगै देशभरका किसान अहिले अन्न भित्र्याउने काममा व्यस्त भएका छन्। वर्षा रोकिएसँगै खेतका पाकेका धान काट्ने र घरमा भित्र्याउने चटारो सुरु भएको छ।  सुनसरी, झापा, मोरङ, र उदयपुरका अधिकांश गाउँ–बस्तीमा किसानहरू बिहानैदेखि खेतमा पुगेर धान काट्ने बाँध्ने र थन्क्याउने काममा जुटेका छन्। कतिपय किसानले मजदुर अभावका कारण आफैं परिवारका सदस्यले श्रमदान गरेर काम अघि बढाइरहेका छन्।

यस वर्ष समयमै पानी परेकाले धानको उत्पादन राम्रो हुने किसानहरूको अनुमान छ। किसानहरूले अहिलेको मौसम अनुकूल रहेको बताउँदै धान भित्र्याउन अझै केही हप्ता लाग्ने बताएका छन्।