काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको ‘घरभित्र पैसा जलाइरहेको’ दाबी गरिएको भिडियोलाई फेक रहेको बताएका छन्।
सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको उक्त भिडियो केही प्रयोगकर्ताले देउवा निवाससँग जोडेर प्रचार गरिरहेका थिए। तर देउवाका प्रेस संयोजकले विज्ञप्ति जारी गर्दै उक्त भिडियोको देउवा वा उनको परिवारसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा भनिएको छ, “केही व्यक्तिहरूले राजनीतिक लाभका लागि पुरानो भिडियो सम्पादन गरी देउवा निवासमा खिचिएको जस्तो देखाइरहेका छन्। यो पूर्णतः गलत र भ्रम सिर्जना गर्ने प्रयास हो।
यसअघि पनि विभिन्न राजनीतिक नेताहरूमाथि यस्तै किसिमका भ्रामक भिडियोहरू सामाजिक सञ्जालमा फैलाइँदा आलोचना हुँदै आएको छ। देउवा पक्षले यसप्रकारका गलत प्रचारविरुद्ध कानूनी कदम चाल्ने चेतावनी दिएको छ।




















