बेलबारी।मोरङ । पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन चलिआएको छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ ओैँ जन्मोत्सव मनाएका छन् ।
१९९० साल असोज २८ गते शुक्रवारका दिन साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिका –२, ओखलढुङ्गामा जन्मिएका थापा पछिल्लो समय बेलबारी –२, लालभित्तीमा काइँला छोरा हेमराजसँग बस्तछन् । राजनीतिका माध्यमबाट समाज सेवा गर्दै आएका उनी साबिकको हरैँचा गाउँ पञ्चायतका पूर्व उपप्रधानपञ्चसमेत हुन् ।
जन्मोत्सव मनाउँदै गरेको स्थानमा भेटिएकी काइँली बुहारी एलिजा थापाले भनिन, ‘बुवाले लामो समयसम्म समाजसेवा गर्नुभयो, पछिल्लो समय केही अस्वस्थ्य रहेर घरमै आराम गरिरहेका छ । गत वर्ष आमा बित्नुभयो । आमा बितेपछि बुवा केही एक्लो महसुस गर्नुभएको जस्तो लाग्यो । त्यही भएर बुवाको जन्मोत्सव बालबालिकासँग मनाउने योजना बनाइएको हो ।’
अनाथ तथा असहाय बालबालिकासँग बसेर जन्मोत्सव मनाउनुलाई साहित्यकार केशु विरही सकारात्मक रूपमा लिन्छन् । विगत २ वर्षदेखि ज्येष्ठ नागरिककै विषयमा अनुसन्धान गरिरहेका विरही यसले अरूलाई पनि प्रेरणा मिल्ने बताउँछन् । धेरैजसो व्यक्ति अनाथ भन्ने बित्तिकै परपरै भाग्छन् तर डिल्लीबहादुर हजुरबुवाले भने त्यस्तै बालबालिकालाई माया गर्ने गरेको बालबालिकाकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नवराज पोखरेल बताउँछन् ।
निसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गीता गौतम यस्ता सामाजिक व्यक्तिको जन्मोत्सव मनाउन पाएकामा आफूहरूलाई निकै खुसी लागेको बताइन् ।
उक्त अवसरमा थापाको परिवारले संस्थालाई केही आर्थिक सहयोगसमेत गरेको थियो ।




















