बादलका 

रूपाकृतिभित्र

प्रमुदित देखिन्छन् 

आडम्बरी आकाशका

कुटिल सौन्दर्य

सघन कालाे बादल

कतै 

मदारीका भालुजस्ता

कतै 

कालाे बिरालोजस्ता

कतै 

आगाेकाे ज्वालामा

मकै भुट्दाभुट्दै

रङ्ग बदलिएका

किसानका 

हाँडीजस्ता

कतै गुरुङ्सिनी आमाले

ओडालेकाे

काेदाकाे ढिँडाेजस्ता !


सघन सेताे बादल

कतै 

हिँउका थुम्काजस्ता

कतै 

स्फटिकका खानीजस्ता

कतै 

वैधव्यधारिणी

श्वेताम्बरा रमणीजस्ता

कतै 

लटरम्म फक्रेका 

कपासजस्ता

कतै 

उमेर पुगेका

सुख्खा टारका

सेताम्मे काँसजस्ता

कतै कृष्णद्वैपायनका

भीष्म पितामहका

दाह्री जुँगाजस्ता

कतै 

पुष्करिणीमा प्रफुल्ल 

श्वेतकमलिनीका

थुँगाजस्ता!


यतिखेर

म यात्रामा छु

अस्ताचलकाे

र देखिरहेछु

सघन खैरा बादल!

कुनै खरानीकाे

थुप्रोजस्ता

कुनै धुवाँले 

अलिकति रङ्गिएका

घरका भित्ताजस्ता

कुनै धाेएर पनि 

मैलोपन

जीवितै रहेका

सेता कमिजजस्ता!


बिहानै 

ताण्डव नृत्य गर्ने

चट्टयाङ् पड्काउने

बिजुली चम्काउँदै

त्रासदी मच्चाउने

दिउँसो 

हात्तीसुँढे वर्षाकाे

आतङ्क फैलाउने

तराई डुबाउने

पहाड भत्काउने

हिमालका आँखामा ठाेकिएर

विनाशलीला देखाउने

यिनै बादल त हुन्


अहिले भने

साँच्चिकै हेर्न लायक छ

खुट्टा भाँच्चिएका

अस्ताचलका

खैरा बादलकाे

असुरक्षित निरीहता !!


           डा. घनश्याम परिश्रमी