विराटनगर ।काठमाडौँ, असोज २२ , हालैको बाढीपहिरोले क्षतिग्रस्त बनाएका सडक संरचनाको पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट अवरुद्ध भएका सडक सञ्चालनलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारे। उनका अनुसार सडक खुलाउन आवश्यक उपकरणसहित जनशक्ति खटाइसकिएको छ। "पहिलो चरणमा सडक आवागमन सहज बनाउने, दोस्रो चरणमा संरचनाको स्थायी पुनर्निर्माण गरिनेछ," मन्त्री घिसिङको भनाइ थियो।


मनसुनजन्य विपद्का कारण सबैभन्दा धेरै क्षति पूर्वी नेपालस्थित मेची राजमार्गमा भएको छ। यसको पुनर्निर्माणमा मात्र १ अर्ब ५० करोड रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ। कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र नारायणघाट–मुग्लिङ राजमार्गहरूमा देखिएको क्षतिका लागि ३ अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।


मन्त्री घिसिङको निजी सचिवालयले दिएको जानकारीअनुसार बाढीले क्षति पु‍र्‍याएका १७ वटा पुलको पुनर्निर्माणमा ४ अर्ब ५२ करोड, बेलिब्रिज जडानमा ८० करोड, र वैकल्पिक सडक मर्मत तथा सम्भारमा १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।