विराटनगर। निरन्तर वर्षासँगै आएको बाढीले विराटनगरसहित देशका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। किसानले मेहनत गरेर लगाएको पाकेको धान अझै भित्र्याउन नपाउँदै बाढीले बगाएको छ।

स्थानीयहरूका अनुसार लगातारको वर्षाका कारण खेतहरू डुबानमा परेका छन् र धानका बोटहरू पानीमा लत्रिएर नष्ट भएका छन्। कतिपय ठाउँमा बाढीले खेतमात्र होइन, घर, गोठ र अन्य संरचनामा समेत क्षति पु–याएको छ।

मोरोङ, सुनसरी, झापा लगायतका तराईका जिल्लामा सयौँ बिगाहा जमिनमा लगाइएको धान बाढीले बगाएको किसानहरूले बताएका छन्। “पूरै परिश्रम पानीमा गयो, केही दिनमै धान काट्ने तयारीमा थियौँ,” एक किसानले दुःख व्यक्त गरे।

स्थानीय प्रशासन र कृषि प्राविधिक टोलीले क्षतिको विवरण संकलन गर्न थालेका छन्। बाढीको कारणले खेतमा लामो समय पानी जमिरहेकाले भोलिका दिनमा रोग र किराको संक्रमण बढ्ने आशंका समेत गरिएको छ।