विराटनगर।सुनसरी , लगातारको अविरल वर्षाका कारण सप्तकोशि नदीमा पानीको बहाब वर्षकै उच्चस्तरमा पुगेको छ। पहाडी जिल्लामा परेको मुसलधारे वर्षाको प्रभावले सप्तकोसीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको हो।
सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार सप्तकोशिमा पानीको बहाब शनिबार बिहानसम्म प्रतिसेकेन्ड ३ लाख ३० हजार ३६० क्युसेक पुगेको छ, जुन यो वर्षको सबैभन्दा उच्च मापन हो। पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको उनले जानकारी दिएका छन्।
उच्च सतर्कताका लागि ब्यारेजमा रातो बत्ती बालिएको छ। सामान्यतया सप्तकोसीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहाब खतराको तह मानिने भएकाले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको अधिकारीहरूले बताएका छन्।




















