मेरा सबै कर्तुत् आज भेटिए

सुख चयन सबै मेटिए

खै अबत कस्ले हेर्छ टेर्छ होला र

अघि पछि लागेर हिड्ने

ती मेरा झोलेहरू मेटिए

फनक्क घुमेर 

सलामी ठोक्के हात मेटिए

सबै मेटियो सबै सकियो,


अब त एकछाक खान र

एक पहर सुकला गर्ने

ओछ्यान सम्म मेटियो

हो सबै जले 

घर जले गाडी जले मेरा 

सपना जले हो सबै जले।

 म सिद्दिएँ सकिएँ 

     अब

यो गलेको ज्यान लिएर खै कता

जाऊँ  म

पैसा माथिको सिराने

पैसै माथिको बिछ्याउँना खै कहाँ छ 

आज , 

कुटिएको शरीर लुटिएको धन

आज सबै जल्यो

सुख जल्यो तुक्का जल्यो

बङ्गला जल्यो घर बास सबै जल्यो ।


मान प्रतिस्टा सबै जल्यो

अब यो नाङ्गो शरीर आफैँलाई

बोझ लाग्छ

ती जवान छोरा सबै मारेँ मैले

रगतको खोला बग्यो 

यो देशका सपुत र अङ्ग रक्षक् 

सहिद भए आज 

ती अभागी आमाका काख रित्तिए 

देशले हजारौँ  चोट सहेर जोगाएको

मेरो कालो धन अग्नि ले सबै खरानी

बनायो।


हुन पनि हो

यो धर्तीमाताले कसरी सहुन् 

मेरो पापको भाँडो भरिएर

आज उम्लियो पोखियो 

अब म बाँचेको र मरेको के सार भयो र

गरेँ ता नि नगर्ने काम मेरो बुताले 

भ्याए सम्म गरेँ।


मेरो राक्षसी यो मन मेरो घमण्डको

घैला भरिए छ अब 

हुनसम्म भयो गोली ठोक्न

सम्म पछि नहट्ने मेरा हातहरू

भ्रष्टचार गर्न सक्ने मेरो आँटहरू

देशको ढुकुटी रित्याए र

बोरामा बाँधेर राखेको धन

न त मलाई भयो न त साथमा गयो

न कुनै काम लाग्यो।


ती मसिना बालकहरूको 

खुन तात्यो सडक रगताम्य भयो

र देशका संरचनाहरू एकैछिनमा

खरानी भए।

हो रहेछ भ्रष्टाचार धेरै भएछ र

पशुपतिनाथले थाम्न सकेनन्

त्यसैले यी युवाहरूलाई पठाए

जेनजी बनेर नयाँ पुस्ताहरू 

सडकमा उत्रिए र 

 एकैछिनमा भुइँचालो ल्याए

मैले भन्थेँ यी मुला केटाकेटी

हुन् कराउँछन् जान्छन्

तर हैन रहेछन् केटाकेटी

देशका रक्षक पो रहेछन्

तेसैले एकै छिनमा मेरो सर्व

सर्वनास भयो 

नासभयो हे राम राम !

   शारदा कार्की 

    विराटनगर