विराटनगर । हाम्रो भान्सामा अनिवार्य झैँ प्रयोग हुने मसला मध्ये टिमुरलाई प्रायः अचारमा मात्र सीमित रूपमा प्रयोग गरिँदै आएको पाइएको छ। तर हालैका विभिन्न अनुसन्धानहरूले टिमुरलाई सामान्य मसला मात्र नभई औषधीय गुणले भरिपूर्ण वनस्पति भएको प्रमाणित गरेका छन्।
विज्ञहरूको भनाइमा टिमुरको तेलमा पाइने विशेष तत्वहरूले शरीरमा हुने ग्यास्ट्रिक, दाँत दुखाइ, मुखसम्बन्धी समस्या, ज्वरो, पेटका विभिन्न रोगहरू नियन्त्रण गर्ने क्षमता हुन्छ। यति मात्र नभई नियमित सेवनले शरीरमा हुने क्यान्सरको जोखिमलाई समेत न्यून बनाउन सक्ने वैज्ञानिक प्रमाणहरू देखिएका छन्।
विशेष गरी टिमुरको तेलमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण उच्च मात्रामा पाइने भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। विज्ञहरूले टिमुरलाई ‘नेचुरल मेडिसिन’ को रूपमा वर्णन गर्दै आएका छन्। उनीहरूका अनुसार, यदि उचित मात्रामा टिमुर वा यसको तेललाई दैनिक जीवनमा प्रयोग गर्न सकियो भने शरीरमा लाग्ने प्रायः रोगहरू स्वतः निर्मूल हुने सम्भावना हुन्छ।
परम्परागत रूपमा पनि ग्रामीण क्षेत्रमा टिमुरलाई औषधीय वनस्पति भनेर विभिन्न रोगको उपचारमा प्रयोग गर्ने गरिएको पाइन्छ। उदाहरणका लागि, पेट फुल्ने, वान्ता, पखाला, दाँत दुख्ने, टाउको दुख्ने जस्ता समस्यामा स्थानीयहरूले टिमुरको प्रयोग गर्ने परम्परा रहेको खोटाङ कुभिन्डे निवासी रुद्र श्रेष्ठले जानकारी दिएका छन् ।
टिमुर वास्तवमै प्राकृतिक औषधि हो। त्यसैले नियमित तर सन्तुलित रूपमा यसको प्रयोग गर्न सके, क्यान्सर जस्ता गम्भीर रोगदेखि सामान्य रोगसम्म नियन्त्रण गर्न टिमुरले महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ।




















