विराटनगर । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ।

बुधबार बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका हुन्  ।

मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पुगेपछि २४ ढोका खोलिएको थियो ।

गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।

त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने बुधबार बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताएका छन्  ।