धरान । जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीविरुद्ध मंगलबार होटल व्यवसायी तथा पूर्व मेयर मनोज कुमार मेन्याङ्बोले किटानी जाहेरी दिइएको छ ।


धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभियान, विभिन्न राजनीतिक दलका नेता तथा पूर्व–वर्तमान जनप्रतिनिधिहरूको उपस्थितिमा मेन्याङ्बोले १२ जना विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको हो । विभिन्न भिडियो फुटेज, तस्बिर र प्रमाणमा पहिचान भएका व्यक्ति विरुद्ध उजुरी दिइएको बताए।


पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट भएको दाबी गर्दै करिब ५३ लाख २३ हजार रुपैयाँभन्दा बढी क्षति पुगेको बताएका छन् । कर्मचारीहरुलाई तलव खुवाउन राखेको ६ लाख रुपैयाँ नगदसमेत लुटिएको छ । सोही क्रममा संलग्न दुई जना सोमबार आत्मसमर्पण गरेर प्रहरीमा बुझाइएकोसमेत बताए।


मेन्याङ्बोले भने, “होटलका भौतिक संरचना मात्र नभई भित्र रहेका सम्पूर्ण सामग्रीसमेत नष्ट गरिएको छ । यो राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत पूर्वाग्रहका आधारमा योजनाबद्ध आक्रमण हो ।” उहाँले दोषी पहिचान गरेर हदैसम्मको कारबाही गर्न माग गरेका छन् । जाहेरी दर्ता पछि पत्रकारहरुसँग कुरा गदैं उहाँले भन्नुभयो धरानमा यत्रो सार्वजनिक तथा व्यक्तिगत सम्पतिको तोडफोड भयो तर नगर प्रमुख केही बोल्नुभएन । उहाँको अघि पछि हिड्नेहरु नै तोडफो८मा देखिएका छन् । यो विडमना हो ।


उनले प्रमाणस्वरूप फोटो र भिडियो प्रहरीलाई बुझाएको उल्लेख गर्दै धरानका मेयर हर्कराज राईप्रति पनि इङ्कित गरे । उनका अनुसार, मेयरकै समर्थकहरू तोडफोडमा संलग्न छन् । उनले मेयर राईले प्रयोग गर्ने माइकसहित आक्रमणकारीहरू पुगेको र कट्टर समर्थक मिलन बान्तवा राई प्रत्यक्ष संलग्न देखिएकाले मेयरको संलग्नता शंकास्पद रहेको बताए ।


उजुरी दर्ता गराउने क्रममा निवर्तमान मेयर तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी, उपप्रमुख मनोज भण्डारीलगायतका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू उपस्थित थिए ।


निवर्तमान उपमेयर मञ्जु भण्डारीले पनि आन्दोलनको नाममा भएको तोडफोड व्यक्तिगत रिसइवीकै परिणाम भएको बताइन् । उनका अनुसार, “अडियो–भिडियो प्रमाणमै कसले कस्को घर तोड्न जाने भनेर पहिल्यै योजना बनाइएको देखिन्छ । मेरो घरमा मात्रै करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।”


यसैबीच इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जवेगुले उजुरीको गम्भीरता बुझेको र आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनले भने, “प्रमाणका आधारमा दोषी को हुन् भन्ने पत्ता लगाएर कारबाही अघि बढाइनेछ ।”


भदौ २४ गतेको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीका कार्यालयहरू, पूर्व मेयर मेन्याङ्बो, पूर्व सांसद जयकुमार राई, पूर्व उपमेयर मञ्जु भण्डारी, कांग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, कार्यपालिका सदस्य सिर्जना नेपाललगायतका घर र कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।


यद्यपि तत्काल प्रतिकारका कारण निवर्तमान मेयर तिलक राई र वडा नं। १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई ९मनोज० को घरमा क्षति हुन पाएन । पीडितहरूले क्रमिक रूपमा उजुरी दर्ता गर्दै दोषी पक्राउ र कडा कारबाहीको माग गरेका छन् ।


धरानका राजनीतिक दलहरूले पनि संयुक्त वक्तव्य जारी गर्दै सरकार र सुरक्षा निकायलाई तत्काल दोषी पक्राउ गरी निष्पक्ष छानबिन र कारबाही गर्न माग गरेका छन् ।


यता, होटल व्यवसायी समिति धरानले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ । समितिले संलग्नहरूको पहिचान भइसकेकाले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । समितिका अनुसार यो घटना ‘जेनजी समूहको आवरणमा अराजक समूहले गरेको आपराधिक कार्य’ हो ।


समितिले पर्यटन क्षेत्रलाई देशको आर्थिक मेरुदण्ड र स्थानीय रोजगारीको प्रमुख आधार बताउँदै यस्ता विनाशकारी गतिविधिले व्यवसायी र लगानीकर्ताको मनोबल कमजोर बनाउने मात्र नभई समग्र आर्थिक–सामाजिक विकासमा गम्भीर असर पार्ने चेतावनी दिएको छ ।