विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिमत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् ।
मंगलबार नेकपा एमाले मोरङले विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कार्कीले नेपालको इतिहासमा अकल्पनीय र दुखद घटना भएको बताए । उनले घटनाको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
जेनजीको आवरणमा भएको षड्यन्त्रमूलक क्रियाकलापहरू गम्भीर भएको उल्लेख गर्दै कार्कीले यसका विविधहरू बिस्तारै पटाक्षेप हुने बताएका छन् ।
एकले अर्कोको विरुद्ध प्रयोग गर्दा देशको सार्वभौम सत्ता नै संकटमा पर्ने गरी परिस्थिति सिर्जना भएको उल्लेख गर्दै कार्कीले अहिलेको अवस्थामा जजसले यो घटना घटाएका छन् उनीहरुले देशको सार्वभौमसत्तामाथि नै खतरा पैदा गरेको धारणा राखेका थिए।
नेतृत्वको विषयमा उठिरहेको प्रश्नको विषयमा उनले यसका विषयमा पनि छलफल हुने र नेकपा एमालेको वैधानिक प्रक्रियाबाट नै यसको छिनोफानो हुने स्पष्ट पार्दै संकटको बेला नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
नेपाली कांग्रेस र एमालेप्रति अहिले बढी क्षती भएको र त्यही अनुसार छानीछानी आक्रमण भएको उल्लेख गर्दै एमाले नेता समेत रहेका मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
भेलालाई सम्बोधन गर्दै एमालेका नेता विनोद ढकालले देशी विदेशी शक्तिहरूका कारण अहिलेको घटना भएको बताए ।
उनले यो घटनालाई गम्भीर रूपमा लिएर पार्टी अगाडि बढ्नुपर्ने चर्चा गर्दै अहिले नेतृत्वलाई आलोचना होइन नेतृत्व र कार्यकर्ताको संरक्षण गर्दै सार्वभौम सत्ता जोगाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
कार्यकर्ता भेलामा बोल्ने दुई दर्जन नेता कार्यकर्ताबीच पार्टी केन्द्रीय सदस्य जीवन घिमिरेले भदौ २४ गते जेनजी समुहको प्रदर्शनका क्रममा घर तोडफोड गरी भौतिक आक्रमण गर्ने चेतावनी दिएपछि पदबाट दिएको राजिनामाका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि केहिबेर नेता कार्यकर्ताहरुबीच वादविवाद सहित चर्केको थियो।
एमाले मोरङ जिल्ला अध्यक्ष अजम्बर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, युवराज बास्कोटा, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले आफ्ना धारणा राखेका थिए ।




















