विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार, नेपाली युवाको सुरक्षा र रोजगारीका अवसरलगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तामा उपमेयर शिल्पा निराला कार्की र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल समेत सहभागी थिए ।
वार्ताको केन्द्रमा हाल हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि भइरहेको प्रयास, सूचना प्रविधि तथा कृषि क्षेत्रमार्फत नेपाली युवालाई इजरायलमा रोजगारीका अवसर दिलाउने विषयमा छलफल भएको जनाइएको छ ।
राजदूत बासले विराटनगर महानगर र इजरायलको प्रमुख सहर ‘वीर शिभा’बीच भगिनी सम्बन्ध स्थापना गर्न पहल भइरहेको जानकारी दिंदै यस प्रक्रियामा आफू गम्भीर रूपमा लागिपरेको बताएका छन् ।




















