सिर्जनाको मुहान
प्रारम्भ हो
सृष्टि हो
नयाँ बाटोको
खनाई हो
अन्तर्मनको
उकुसमुकुस हो
बाँझो जोताई हो
नयाँ बाटोको
खनाई हो
दूर दृष्टि
साधनाको
उपज हो
तर
आजको सिर्जना
सत्ताको
चाकरी हो
विचारको
समर्थन हो
पुरस्कारको
लक्ष हो
राजनीतिक
नारा हो
अध्ययन बिनाको
मजाक हो
ठट्टा हो
बडप्पन हो
नक्कल हो
चोरी हो।
आजको
सिर्जनामा
गहिराई हुँदैन
चौडाइ हुँदैन
उचाई हुँदैन
दिल हुँदैन
मर्म हुँदैन
अर्थ हुँदैन
मात्र अक्षरको
थुप्रो हुन्छ
लामो हुन्छ
मोटो हुन्छ
तर बाँसजस्तै
भित्र खोक्रो हुन्छ।
सिर्जनाको मुहानमा
देशभक्ति हुँदैन
देश बेचुवा हुन्छ
झुपडी हुँदैन
महल हुन्छ
फूल हुँदैन
काँडा हुन्छ
सीमा हुँदैन
राजधानी हुन्छ
निमुखा हुँदैन
भ्रष्ट हुन्छ
छन्द हुँदैन
छरपस्ट हुन्छ
आकाश र बादल हुँदैन
भट्टी र मदिरा हुन्छ
सम्मान हुँदैन
अपमान र
बलात्कार हुन्छ
चरा वन होइन
कृत्रिम शहर हुन्छ
आदर होइन
अनादर हुन्छ
संस्कार र संस्कृति होइन
विकार र विकृति हुन्छ ।
कविताको मुहानमा
मदिराको गन्ध हुन्छ
फूलको होइन
अत्तरको
वासना हुन्छ।
त्यहाँ हुनुपर्ने
लिपुलेक हुँदैन
नक्कली पासपोर्ट हुँदैन
मानव तस्करी हुँदैन
ललिता निवास हुँदैन
गिरीबन्धु हुँदैन
महाकाली हुँदैन
पशुपतिनगर हुँदैन
सुस्ता हुँदैन
वीरेन्द्रको हत्या
मदन आशृतको रहस्य
सुशील दाको मृत्यु
सुनिता नमिता काण्ड
निर्मला बलात्कार काण्ड
गौर काण्ड
केही नै हुँदैन
फगत चाकरी
चाप्लुसी र
स्वार्थ हुन्छ
आजको कविताको
सिर्जनाको मुहानमा ।
............
• देवी पन्थी
मु. काठमाडौं
२०८२/०५/१० तीज




















