विराटनगर ।अभिभावक संघ नेपाल, कोशी प्रदेश कार्य समिति मोरङले प्रस्तावित शिक्षा ऐनमाथि भएको असन्तुष्टि र आन्दोलित कार्यक्रमका क्रममा विद्यालय बन्द गर्ने जस्तो कदम नचाल्न आग्रह गरेको छ ।


संघका अध्यक्ष देवी पौडेल र खेमन्द्र भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रस्तावित शिक्षा ऐनमाथि व्यावसायिक संगठनहरुले सरकारसँग संवाद गरेर अघि बढ्नु सकारात्मक भए पनि विद्यालय बन्द गर्ने कार्यले प्रत्यक्ष प्रभाव विद्यार्थी र अभिभावकलाई पर्ने भएकाले यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ ।”


विद्यालय बन्द हुँदा सरकारी तथा निजी दुवै विद्यालयका विद्यार्थीको अध्ययन अवरुद्ध हुने र त्यसको दीर्घकालीन असर पर्न सक्ने चेतावनी विज्ञप्तिमा दिइएको छ । संघले आन्दोलन गर्ने अधिकारलाई सम्मान गर्दै पनि विद्यार्थीलाई नकारात्मक असर पर्ने खालका कार्यक्रम तुरुन्त स्थगन गर्न सम्बन्धित पक्षसँग हार्दिक अनुरोध गरेको छ ।


अभिभावक संघले शिक्षा क्षेत्रसम्बन्धी विषय वार्ता, छलफल र वैचारिक सहमतिबाट मात्रै समाधान खोज्नुपर्ने बताएको छ ।


विज्ञप्ति २०८२ साउन ४ गते सार्वजनिक गरिएको हो ।