विराटनगर ।   प्रेस चौतारी मोरङको तिज मिलन कार्यक्रम सम्पन्न  भएको छ।  कोशी प्रदेशकी उप–सभामुख सिर्जना दनुवारले तिज पर्वले सबै जातजाति र धर्मका महिलालाई एउटै सूत्रमा बाँध्ने कार्य गरेको बताइन् ।

प्रेस चौतारी मोरङले आयोजना गरेको तिज मिलन कार्यक्रममा उनले तिजले विविधतामा एकता कायम गर्ने, महिला अधिकार र सशक्तिकरणबारे गम्भीर बहस गर्न प्रेरित गर्ने बताएकि छन्।

उनले महिलाको ठूलो जनसंख्या हुँदाहुँदै तिज पर्वमा सार्वजनिक विदा नदिएकोमा सरकारलाई पुनर्विचार गर्न सुझाव दिइन् । पछिल्ला आरोपहरूलाई अस्वीकार गर्दै उनले तिज भड्किलो नभई महिलाको स्वतन्त्रता, खुशी र आत्मबलको पर्व भएको स्पष्ट पारेकि थिइन्।

कार्यक्रममा विराटनगरकी उप–मेयर शिल्पा निराला कार्कीले तिजलाई धार्मिक मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीकका रूपमा व्याख्या गरिन् ।

त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले तिज महिलाको सशक्तिकरण र पत्रकारितामा महिलाको टिकाउ सहभागिताबारे समेत जोड दिए। भने प्रेस चौतारी मोरङकि अध्यक्ष चिना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।