विराटनगर । भाद्र २/उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमा विभिन्न ६ वटा सम्मान र पुरस्कारबाट ६ जना सम्मानित तथा पुरस्कृत भएका छन् । 

उनीहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्मानित तथा पुरस्कृत गरेका थिए । 

उद्घोष दैनिकले यसवर्ष उत्कृष्ट विज्ञापनदाताका रूपमा उद्योगी महेश जाजूलाई सम्मान गरेको छ। त्यस्तै नेपाली, हिन्दी, भोजपुरी, माडवारी भाषामा गीत तथा भजन लेखनमार्फत् सिर्जनात्मक क्षेत्रमा योगदान गरिरहेकी अनिता सोनी उद्घोष नारी सम्मानबाट पनि सम्मानित भएकी छिन् । उनी भारतको प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड विजेता लेखक हुन् ।

त्यसैगरी उद्घोष दैनिकको मुद्रण गरिरहेको हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेसन्स प्रालि पनि सम्मानित भएको छ । 

प्रालिका अध्यक्ष कृष्ण अधिकारी र प्रबन्ध निर्देशक लव घिमिरेले सम्मानपत्र ग्रहण गरेका थिए । 

वार्षिकोत्सवको अवसरमा उद्घोष दैनिकका तीन जना सहकर्मीहरू पनि पुरस्कृत भएका छन् । 

समाचार डेस्कका सहकर्मी बाबुराम भण्डारी र डिजाइनर श्रीकृष्ण चौधरी उत्कृष्ट उद्घोषकर्मीका रूपमा २१ हजार नगद राशीसहित पुरस्कृत भएका हुन् । त्यसैगरी उत्कृष्ट संवाददाताका रूपमा मणिराम दाहाल ११ हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका हुन् ।