विराटनगर । विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करण आइतबार आयोजना हुँदैछ । हजारौं श्रद्धालुको लर्कोका बीच यसपटक विराटनगरका सडकमा नयाँ र ठूलो रथ गुड्दैछ ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रामा मोरङ, सुनसरीका मात्रै नभई सीमावर्ती भारतीय राज्य बिहारबाट पनि हजारौं श्रद्धालु सहभागी हुने गरेका छन् ।
रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको मूल समारोह समितिले जानकारी दिएको छ ।
‘रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले भने ‘हामी समस्त श्रद्धालुहरुलाई सहभागिताका लागि आह्वान गर्दछौं ।
विराटनगरमा पहिलोपटक राधाकृष्ण रथयात्रा विक्रम संवत् १९८८ मा सुरु भएको थियो ।
विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा प्रारम्भमा खटयात्राको स्वरुपमा निस्कने गरेको थियो । त्यसलाई २०२२ सालदेखि बयलगाडामा निकाल्न थालिएको थियो ।
२०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि रथयात्राको सुरुवात भएको थियो ।
व्यवस्थापन समितिका अनुसार आइतबार निस्कने रथयात्रा सधैंझैं राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ । दिउँसो ३ बजेबाट सुरु हुने रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ ।




















