विराटनगर, २८ साउन ।शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था र अन्यायका विरुद्ध कोसी प्रदेश अभिभावक संघले कडा धारणा सार्वजनिक गरेको छ। संघकी अध्यक्ष डा. देवी पन्थीद्वारा जारी विज्ञप्तिमा शिक्षा क्षेत्रमा मौलाइरहेका विकृति र असमानतालाई अन्त्य गर्न सरकार र निजी विद्यालयहरूको छाता संस्था प्याब्सनलाई आह्वान गरिएको छ।


संघले निशुल्क भनिएका सामुदायिक विद्यालयहरूबाट पनि शुल्क असुली भइरहेको र निजी विद्यालयहरूलाई १५% पूर्ण छात्रवृत्ति दिनुपर्ने सरकारी बाध्यताले अभिभावकमाथि अतिरिक्त भार परेको गुनासो गरेको छ। “यो व्यवस्था खारेज गरी, समग्र शिक्षामा सरकारले कुपन वितरण प्रणाली लागू गर्नु पर्दछ,” अध्यक्ष पन्थीको भनाइ छ।


अभिभावक संघको धारणा अनुसार, कुपन प्रणाली लागू भएमा गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित रुपमा सहयोग पुर्‍याउन सहज हुनेछ, र सशुल्क शिक्षा लिइरहेका अभिभावकमाथिको अन्यायपूर्ण आर्थिक भार कम हुनेछ।


संघले प्याब्सनलाई आग्रह गरेको छ कि उसले निजी विद्यालयहरूको मात्र चासो नराखी, विद्यार्थी र अभिभावकको पक्षमा पनि आवाज उठाओस्। साथै सामुदायिक विद्यालयहरूले चन्दा वा अन्य शीर्षकमा शुल्क असुली गरिरहेको विषयमा पनि स्पष्ट विरोध गर्नुपर्ने बताएको छ।


“सामुदायिक विद्यालय सरकारको जिम्मा हो भने, निजी विद्यालय अभिभावकहरूले आफ्नो गाँस काटेर चलाइरहेका छन्,” संघले भनेको छ, “प्याब्सनले समग्र शिक्षा प्रणालीमा मौलाइरहेका विकृति, विभेद र अन्यायका विरुद्ध एकमुष्ट आवाज उठाओस्।”


संघले अन्त्यमा स्पष्ट पारेको छ कि प्याब्सन वा अन्य संस्थाहरूले विद्यार्थी र अभिभावकको सामूहिक हितमा उठाएका जायज मागहरूप्रति अभिभावक संघ कोसी प्रदेशको समर्थन रहनेछ।