विराटनगर । आगामी भदौ १ मा निकालिने राधाकृष्ण रथयात्रालाई अवरोध गर्ने भन्दै झण्डै ९० वर्ष पुरानो भएको दावी गरिएको पिपल रूख काटिंदा विराटनगरमा त्यसको विरोध पछि क्षमा पुजा  गरिएको छ । 

रूख काटिएपछि हरियाली अभियन्ता पारूल क्षेत्रीको नेतृत्वमा सोमबार दिउँदो क्षमा पूजा गरिएको हो । 

रथयात्रा व्यवस्थापनका लागि विराटनगरको मेडरोडस्थित सत्यनारायण मन्दिर अगाडि रहेको पिपलको रूखका हाँगा काटिएको थियो । 

धार्मिक कार्यका नाममा  धार्मिक वृक्ष पिपल काट्ने कार्यको चौतर्फी विरोध भएपछि क्षमा पुजा गरेको हो। 


उनीहरूले मन्दिर अगाडि रहेको भगवान विष्णुको प्रतीक मानिने पिपलको रूख काट्नु अनुचित भएको बताएका छन् । 

यो रूख हामीले जसरी पनि बचाउनु पर्छ, धार्मिक कार्यक्रमका नाममा धार्मिक आस्थासँगै जोडिएको पिपलको रूख काटिनु निन्दनीय छ’ क्षेत्रीले भने, ‘यो रूख काट्न कुनै औचित्य थिएन, काटेको कुराको कसैले जिम्मा लिंदैनन्, जसले काटे पनि हामीले क्षमा पूजा गरेका छौं।

क्षमा पूजामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूले ऐक्यवद्धता जनाएका थिए ।