काठमाडौं । माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो लास (शव) अनसन स्थलबाटै उठाउनुपर्ने बताएकी छिन् ।

शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफुले त्यही प्राण त्याग्ने र माइतघरबाटै लास उठाउनुपर्ने बताएकी हुन् ।

सक्नुहुन्छ भने भ्रष्टाचारको नीतिमा कडाई गर्नु तर यो खालको कानून मान्य हुँदैन । जसले मानसिक रुपमा महिलालाई पीडा दिन्छ र हिंसा भड्काउँछ त्यो मान्य हुँदैन । हाल मस्यौदा तयार भएको कानून भनेको ठूलो अपराध निम्ताउने बाटो हो । यसलाई रोक्नुपर्छ । यो लडाई मेरो मात्र होइन मेरो लागि मात्र म बसेको होइन । यसबारे सबैले आवाज उठाउनुपर्छ ।’

यो कानूनले हिंसा मात्र होइन आत्महत्याको घटना पनि बढाउने भन्दै त्यसको जिम्मेवारी कानून मन्त्रालय अर्थात कानुन बनाउन अग्रसरता लिने सचिवले लिनुपर्ने बताएकी छन् ।

यो कानुन तपाईं आफ्नो छोरीमा पहिला लागू गर्नु अनि मात्र पारित गर्नुहोला ।उनले ठाडो जवाफमा सोधेकी छन्। तपाइँको परिवारमा यस्तो कानून स्वीकार्य हुन्छ भने मात्र पारित गर्नु । एउटा कुर्सीमा बसेर जनतालाई आफ्नो प्रयोगशाला बनाउन पाइँदैन ।

यस्तो कानूनले सबैभन्दा बढि असर विकट ठाँउमा रहेका दिदी बहिनीहरुलाई गर्ने उनको भनाई छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको बहुविवाह सम्बन्धी उक्त नयाँ मस्यौदामा विवाहित पुरुषले अर्की महिलासँगको सम्बन्धबाट बच्चा जन्माएमा वा गर्भ रहेमा उक्त सम्बन्धलाई दोस्रो विवाहको रूपमा कानुनी मान्यता दिने गरी मुलुकी संहिताको धारा १७५ संशोधन गर्ने प्रस्ताव गरिएको छ ।