विराटनगर ।  पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शुक्रबार क्याम्पसको ७१ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको उच्च मूल्याङ्कन गर्दै चाँदीको पदकसहित सम्मान गरिएको हो ।

मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थियो । पछि राजा महेन्द्रले नवनिर्मित भवन उद्घाटन गरेपछि क्याम्पसको नाममा महेन्द्र थपिएको थियो ।

सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ डा उद्धव पोखरेल, डा ललीतनारायण मण्डर र नरेश पौडेल  छन् ।कर्मचारीतर्फ भूपेन्द्र राणा र चन्द्रदेव मण्डल छन् । सम्मानित प्राध्यापक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व सदस्य एवम् महेन्द्र मोरङ क्याम्पसका पूर्व प्रमुख प्राध्यापक महेन्द्रनारायण यादव,  क्याम्पस प्रमुख डा रामावतार यादव, त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईं सभापति डा प्रमोद खेरवार, प्राडा तिलक गौतमले  सम्मान गरेका थिए ।