विराटनगर । सडक सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउने तीन वटै तहका सरकारको दाबी खण्डित हुने गरी कोशी प्रदेशमा सडक दुर्घटना भयावह आकारमा बढिरहेको छ । दुर्घटना बढेपछि त्यसबाट ज्यान गुमाउनेहरूको संख्या प्रदेशमा लगातार थपिइरहेको छ । सवारी दुर्घटनाबाट प्रदेशभरीमा सबैभन्दा धेरै मृत्यु हुने संख्या मोरङमा देखिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को तथ्यांकले कोशी प्रदेशका राजमार्ग र सडकहरू मृत्युमार्ग बनिरहेको नमिठो अवस्था चित्रण छ ।
गत वर्षको साउनदेखि यसपटकको असार अन्तिमसम्मको १२ महिनाको अवधिमा मात्रै कोशी प्रदेशका १४ जिल्लामा ५ हजार ६ सय २६ वटा सडक दुर्घटना भएका छन् ।
ती दुर्घटनामा परेर ४१८ जनाले ज्यान गुमाएका छन् भने ९ हजार २ सय ४१ जना घाइते भएका छन् । गम्भीर घाइतेको संख्या ७११ छ ।
‘अघिल्लो आर्थिक वर्षको दाँजोमा दुर्घटना संख्या, मृतक र घाइते सबैको संख्या बढेको छ’, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठले भने ‘भर्खरै बितेको आर्थिक वर्षमा भएका दुर्घटनामध्ये ५७ प्रतिशत भन्दा बढी संख्या मोटरसाइकलकै देखिन्छ । ज्यान गुमाउनेहरू पनि बाइकमै भएकाहरू धेरै छन् ।’
आर्थिक वर्ष २०८०–८१ मा कोशीका १४ जिल्लामा ३ हजार ५ सय ६३ वटा सडक दुर्घटना हुँदा ३९७ जनाको मृत्यु भएको थियो । ६ हजार ७६ जना घाइते भएका थिए ।
बितेका दुई आर्थिक वर्षको तुलना गर्दा पछिल्लो वर्ष कोशीमा दुर्घटना संख्या २ हजार ६३ वटा अर्थात् ५८ प्रतिशतले बढेको छ ।
मृत्युदर ५ प्रतिशतले बढ्दा घाइतेहरूको संख्या ३ हजार १ सय ६५ ले बढेको छ । जुन ५२ प्रतिशतले बढी हो ।
जिल्लागत रूपमा दुर्घटनाबाट ज्यान गुमाउने सबैभन्दा धेरै मोरङमा छन् । भर्खरै बितेको आर्थिक वर्षभित्र मोरङमा मात्रै १२५ जनाको मृत्यु भएको छ ।
झापामा ९५ जनाले ज्यान गुमाउँदा सुनसरीमा ९१, उदयपुरमा ३६, धनकुटामा १३, संखुवासभामा १२, इलाममा ११ र भोजपुरमा १० जनाले दुर्घटनामा परेर मृत्युवरण गर्नुपरेको छ । त्यस्तै खोटाङमा ६ जना, पाँचथरमा ५, ताप्लेजुङ, ओखलढुंगा र सोलुखुम्बुमा ४–४ जना र तेह्रथुममा २ जनाले ज्यान गुमाएका छन् ।




















