धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जीव शर्माले कलेजो रोगबाट ग्रसित रोशन राईलाई धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्ती स्थित निवासमै पुगेर चेकजाँच गरिएको छ । 

आर्थिक अभावमा अस्पताल लैजान नसकेर घरमै जीवनमरणका दोसाँधमा रहेका राईको अवस्था बारे बुझ्न मुटु तथा मृगौला रोग विशेषज्ञ समेत रहेका डा.शर्मा झुपडीमै पुगेर  रोशन राईको उपचारकार लागि सहयोग जुटाई मजदुर नेता भीमज्वाला राईले सबै यथार्थ जानकारी गराएर एकपटक जाँच गरिदिन अनुरोध गरेपछि डा. शर्मा बस्तीमै पुगेर जाँच गरिदिएका हुन् । 

बिरामीको सम्पूर्ण रिपोर्ट हेरिसकेपछि एउटा औषधि सिफारिस गर्दै चारदिनपछि अस्पतालमै भर्ना गरेर पेटको पानी झिक्नु पर्ने जानकारी गराए । उनलेे अस्पतालको तर्फबाट सहयोग गर्ने समेत  बताए। 

जनताको डाक्टरको उपमा पाएका  डा. शर्माले यसअघि कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा करिव ५० हजार बढी नागरिकको निशुल्क मृगौला परिक्षण गरिसकेका छन्। केएचडिसि कार्यक्रम मार्फत गरिएको उक्त अभियानमा डा. शर्मा विभिन्न जिल्लाका दूरदराजका बस्तीहरुमा पुगिसकेका छन्। 

सुकुम्बासी बस्तीमा पुगेका डा. शर्मालाई टोलमा धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले स्वागत गरे । आधारभूत बस्तीमा यतिको विशेषज्ञ र उच्च ओहदाको डाक्टर पहिलो पटक पुगेको वडा अध्यक्ष राईले बताए।

हामी जनताको सेवामा समर्पित डाक्डरहरुले अवस्था अनुसार काम गर्न सक्नुपर्ने बताउँदै आफु सँधै जनतासंगै रमाउने गरेको डा. शर्माले बताए । बिरामीले हिजो मात्रै रगत वान्ता गरेको र तत्काल अस्पताल लैजान सक्ने अवस्था बिरामीको नभएकाले डा. सञ्जीव शर्मालाई जानकारी गराउँदै समय मिलेमा घरमै आइदिन आग्रह गरेका थिए।उनी सहजै आइदिएको भीमज्वाला राईले बताए । डाक्टरको  उपस्थितिले परिवार मात्रै होइन टोलनै खुशी भएको राईले बताए । 

दाउरा बेचेर श्रीमति र एक छोरी सहितको परिवारको गुजारा चलाइरहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि थलोपरोका छन् । 

उनको कलेजो फेर्न करिव १५ लाख खर्च हुने चिकित्सकहरुले यसअघिनै जानकारी गराइसकेकाछन् । घर चलाउनै गाहे भइरहेको अवस्थामा त्यत्रो पैसा कसरी जुटाउनुहोला उनकी श्रीमति शान्ति तामाङले बताईन् । 

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल गरिरहेको कसैले पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका भीमज्वाला राईले बताएका छन् ।