केही  हुँदैन  बाहिरी  शरीर  हरियो  बनाएर 

बढ्दैन  हौ  पोइको आयु मेहन्दी  खन्याएर।


बाहिर जाँदा  रम्रिएर  हिँड्छौ  अत्तर छर्की

तिमीलाई सुघ्दै हिँड्छन् हेर्छन् फर्की फर्की

घर आउँदा चाहिँ  मर्नुहुन्छ कोठा  गन्हाएर

बढ्दैन  हौ  पोइको आयु मेहन्दी  खन्याएर।


कसले ल्यायो यस्तो चलन सुननै लाउनुपर्ने

किन होला नक्कल झक्कल देखासेखी गर्ने

नाचौँ  हाँसौँ  जे  छ  हातमा त्यसमै रमाएर

बढ्दैन  हौ  पोइको आयु मेहन्दी  खन्याएर।


तिमी  चाहिँ  मेहन्दी  र  लाउने हरियो सारी

मैले चाहिँ यहाँ भ्याकै छैन काट्न झुसेदारी

आउन  रमाऔँ  मिलीजुली  खुसी  मनाएर

बढ्दैन  हौ  पोइको आयु मेहन्दी  खन्याएर।


 नवशिला।

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।