क्यानडाको रिप्लीज एक्वेरियम — टोरन्टोको मुटुमा अवस्थित, समुद्री जीवनको अद्वितीय संसार नजिकैबाट अनुभव गर्न सकिने एक आकर्षक स्थल हो। रंगीचंगी माछा, जेलीफिस, शार्क तथा समुद्रको गहिराइबाट ल्याइएका विविध प्रजातिका जीवहरूले यो स्थानलाई एक अद्भुत अनुभवस्थल बनाएको छ।
हामी स्कारबोरो जानसकने रेल स्टेसन (बाट सरकारी रेल चढेर एक्वेरियम जान निस्कियौँ। रेल सफा, शान्त र सुविधायुक्त थियो — झ्यालबाट देखिने रमणीय दृश्य र आरामदायी सिटले हाम्रो यात्रा झनै रमाइलो बनायो। पहिलो पटक सरकारी रेलमा यात्रा गर्दा क्यानडाको सार्वजनिक यातायात प्रणालीप्रति झनै बढी सम्मान जाग्यो।
एक्वेरियमभित्र छिरेपछि यस्तो लाग्यो — मानौँ हामी समुद्रको गहिराइमै पाइला चालिरहेका थियौँ। निलो बत्ती, बगिरहेको पानी र जीवजन्तुहरूको मोहक गतिले हाम्रो आँखा र मन दुवै मोहित बनायो। विशाल सुरुङजस्तो बाटो हुँदै शार्कहरू हाम्रो एकदमै नजिक पौडिरहेको दृश्य साँच्चिकै जादुमय अनुभव बन्यो।
समुद्री जीवनको यति नजिकको झलकले मनमा नयाँ सम्मान, जिज्ञासा र आश्चर्यको भावना भरिदियो — साँच्चिकै अविस्मरणीय दिन, एक अद्वितीय अनुभव।
लक्ष्मी युग्मि
विराटनगर




















