मर्यादा चोरी गर्नेहरूको हातबाट पूजा कस्तो होला
एउटा रमाउँदा अर्को छाती धुजाधुजा कस्तो होला
आस्थाको धरोहरमा अलिकति मानवियता भए,
विस्थापित मनभित्रको सञ्चित उर्जा कस्तो होला।
मुक्तक-:२
सम्झनाको अङ्गालोभित्र अझै लाग्छ आलो बालापन
सम्झिंदा सत्य भएपनि आज अधिक टाढो बालापन
समयको प्रवाह कहिले समिप, कहिले दूर क्षितिज भन्दा,
लिएर आउँछ अतित केवल झझल्को प्यारो बालापन।
मुक्तक-:३
वास्तविकता जति बुझ्यो दुनियाँ त्यति नै झन् गहिरो छ
अन्धभक्तहरूका लागि त केवल शून्यता सङ्ग बहिरो छ
समय खोलीको बहाव हो, बगेपछि फर्किदैन कहिल्यै,
यदि समयलाई अँगाल्न सकिएन भने जिन्दगी पहिरो छ।
मुक्तक -:४
समस्याको समाधान भेटिन्छ, खोज्न सकियो भने
गहिरिएर बुद्धि सङ्ग विवेकले सोच्न सकियो भने
असम्भव छैन केही संसारमा आँटिलाहरूका लागि,
कठिन हुन्छ सहज आत्मियता बोक्न सकियो भने।
शरद प्रधानाङ्ग, विराटनगर - ७




















