विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवा निकट नेताहरु आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका छन् । यसबीचमा उनले केही सफलता पाइसकेका छन् । त्यसो त यस अवधिमा उनका निकटवर्तीहरु टाढिएका पनि छन्। जस्तो महामन्त्री गगन थापा । शेखरको देश दौडाहा रोकिएको छैन।
उनी निकटहरु देउवा पक्षका खम्बा मानिने बालकृष्ण खाण र एनपी साउद जस्ता नेताहरु कोइराला समूहमा आइसकेको बताइरहेका छन्। कुनै बेला सभापति शेरबहादुर देउवाको ‘कोर टिम’ सदस्य मानिने नेपाली कांग्रेसका नेता बालकृष्ण खाण बुधबार बिहानै विराटनगरस्थित कोइराला निवास पुगे। शेखर निकट नेता-कार्यकर्ताहरुको बाक्लो जमघटबीच केहीबेर पत्रकारहरुसँग कुराकानी गर्दै पार्टी संस्थापनसँग तपाइँ टाढिएको चर्चाबीच कोइराला निवासमा भेटिएपछि यसलाई कुन अर्थमा बुझ्ने ? भन्ने प्रश्नमा नेता खाणले ‘कोइराला निवास कांग्रेस कार्यकर्ताका लागि मात्रै नभइ प्रजातन्त्रमा आस्था राख्ने जोकोहीका लागि मन्दिर जत्तिकै पवित्रस्थल’ भएको बताएका थिए।




















