विराटनगर।धरान: उपमहानगरपालिका वडा नं २० मा ‘माया धराने’ बेसार उद्योगको उद्घाटन गरिएको छ ।
धरान उपमहानगरपालिका अन्तर्गत खुलेको उद्योग शुक्रबार एक समारोहबीच मेयर हर्कराज राई (साम्पाङ)लाई चाबी हस्तान्तरण गरिएको थियो। मेयर साम्पाङ र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटेर उद्योगको उद्घाटन गरेका थिए । उद्योगबाट ‘माया धराने’ नामको प्याकेजिङसहितको बेसार पनि उत्पादन शुरुवात भइसकेको छ । शुक्रबार उद्घाटन भएसँगै उक्त बेसार बिक्री गर्न थालिएको छ।
मेयर साम्पाङले वडा २० मा बेसार उद्योग खोल्ने एजेण्डा ल्याएपछि कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । साविक विष्णुपादुका गाविस रहेको यो वडा बेसार पकेट क्षेत्र मानिन्छ । यहाँका कृषकहरुले बेसार खेती गर्ने गरेको तिनै कृषकहरुलाई आर्थिक लाभ दिने उद्देश्यले बेसार उद्योग खोल्ने निर्णय उपमहानगरपालिकाले गरेको हो ।
उद्योग उद्घाटन समारोहमा मेयर साम्पाङसँगै वडा १५ का अध्यक्ष नरेश इवारम, वडा २० का अध्यक्ष पदम लिम्बु, कार्यपालिका सदस्य एवं आर्थिक विकास समिति अध्यक्ष विनिता बज्रचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले पनि सम्बोधन गरेका थिए ।




















