विराटनगर । विराटनगर कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा विराटनगरमा आयोजित “बाँसको जराबाट उपहार जन्य सामग्री उत्पादन सम्बन्धी तालिम“ बिहिबार सम्पन्न भएको छ ।

बंगलामुखी हस्तकला केन्द्र भद्रपुरको आयोजना तथा पर्यटन कार्यालय झापाको सहकार्यमा सम्पन्न तालिममा प्रदेशका विभिन्न जिल्लाका १९ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरूले बाँसको जराबाट विभिन्न आकर्षक कलात्मक वस्तुहरू—चराचुरुंगी, जनावरका आकृति, घडी र भित्ते सजावटका सामग्रीहरू निर्माण गरेका थिए ।तालिमको प्रमुख प्रशिक्षकको रुपमा सञ्जय प्रधान र सहायक प्रशिक्षकमा जतन राजवंशी र तुल्सी मास्के रहेका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रममा कोसीका पर्यटन मन्त्री सदानन्द मण्डलले बाँसको ठुटा र जराबाट कलात्मक सामग्री बनाएर उपहार दिन सकिने रहेछ भन्ने तालिमबाट देखिएको बताए । उनले वरिपरि रहेको बाँसको जरालाई खेर जान नदिन तालिम गरिएको बताए ।

आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।