विराटनगर।असार १५ मनाऔं । खेतमा काम गरौं । प्रकृतिसँग रमाऔं । कृषकलाई सम्मान गरौं भन्ने नाराका साथ असार १५मनाइँदै छ ।
असार १५ कुनै साधारण मिति होइन । यो नेपाली कृषकको आत्मा हो । सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । देशको खाद्य सुरक्षासँग जोडिएको दिन हो । नेपाल कृषिप्रधान देश मानिदै आएको छ। यहाँको जीवनशैली, संस्कार तथा चाडपर्वहरू अधिकांश कृषि प्रणालीसँगै जोडिएका हुन्छन्।
त्यसैको एउटा उदाहरण हो– असार १५, जुन दिनलाई ‘धान दिवस’, ‘रोपाइँ महोत्सव’ वा ‘दही चिउरा खाने दिन’ भनेर पनि चिन्न सकिन्छ। यो केवल खेतमा रोपाइँ गर्ने वा दही, चिउरा खाने दिन मात्र नभएर सांस्कृतिक, आर्थिक, सामाजिक र वैज्ञानिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि , नेपालमा खेतीपाती हजारौं वर्षअघिदेखि गरिँदै आएको हो । प्राचीन संस्कृतिहरूमा पानीलाई जीवनको आधार मानिन्छ ।
असार महिना नेपालमा वर्षा सुरु हुने महिना र चाड बाड सुरु हुने महिना हो ।असार १५
दिनभर पानी पर्ने उच्च सम्भावनाको दिन । यही कारण किसानहरू परम्परागत रूपमा यही दिन धान रोप्ने शुभ दिनका रूपमा मनाउँछन् । यस दिन कृषक, विशेषगरी महिला र पुरुष खेतमा नाचगान, झ्याउरे र दोहोरी गीत गाउँदै धान रोप्ने परम्परा पनि धेरै ठाउँमा जीवितै रहेको छ । गाउँघरमा मान्छेहरूले एक–अर्कालाई हिलो दल्ने, रमाइलो गर्ने, र खेतैमा दही चिउरा खाएर असार १५ मनाउने चलन रहिआएको छ । यसलाई कतिपयले ‘किसानहरूको होली’ पनि भन्ने गरिन्छ। अहिले शहर तिर पनि एकअर्कालाई हिलो दल्ने चलन छ ।
कृषि वैज्ञानिकहरूका अनुसार धानको रोपाइँका लागि असार १५ वरिपरिको समय सबैभन्दा उपयुक्त मानिन्छ । नेपालमा दक्षिण–पूर्वी मनसुन असार लागेलगत्तै प्रवेश गर्छ । पानी पर्न थाल्छ । त्यसको केही दिनमै जमिन चिसो अनि माटो गिलो हुन्छ, जसले रोपाइँ गर्न सजिलो बनाउँछ । असार १५–२५ को समय रोपाइँको उत्तम समय हो । यो समयमा तापक्रम र आद्र्रता दुवै अनुकूल हुन्छ । किसानहरुको महत्त्वपुर्ण दिन आज आज बाट सुरु भएको रोपाइ साउन १५सम्म चल्ने खेती गर्दै आएका महेन्द्र कामत बताउँछन्।




















