द्वन्द चलेको छ  यहाँ  सेता र काला बीच,

को जित्ने थाहा  छैन  लठ्ठी र भाला बीच।


पच्दैन  सत्य  यहाँ  सुन्दा  अनौठो  लाग्छ,

छैन  मिलाप  अहिले  चाबी र ताला बीच।


बाहिर  सम्बन्ध राम्रो  देख्नेले देख्दा मात्र,

छैन घनिष्ठ  आजकल भेना र साला बीच।


जल्न  त जल्छ बाती मधुर उज्यालो भर्दै,

टकराव देखिन्छ  उता बर्तुन र पाला बीच।


देखिन्छ झट्ट  हेर्दा साँच्चै मिलेका छन् यी,

मिल्दैन  कुरो  अचेल आँखा र गाला बीच।


भ्रष्ट  दलालहरूलाई  गर्दिन भन्छ सम्मान,

ठुलो विवाद छ अहिले गला र माला बिच।


गर्छन् रे ती झगडा म हुँ  ठूलो भन्ने निउमा,

छ अरे पानी बाराबार डोका र डाला बीच।

 नवशिला।

 नवदेव मार्ग, लालभित्ती, मोरङ।