तिमी मज्जाले चपाएर बस
तिमी ढ्याउ गर्दै अघाएर बस
तिमी चाहीं टुटुलु हेरेर बस्
तिमी मान्छे पिच्छे बोली फेरेर बस
यो देश ठुला कुर्सिमै बस्नेहरुको हो
त्यसैले बेस्सरी अँगालो मारेर बस्!
गरिब किसान जति पसिना बगाएर बस
बिचौलियाहरुलाई सघाएर बस
आफूले किन्नु पर्ने सबै बिऊ विजन र मलहरु
छिमेकी देशबाट मगाएर बस!
व्यापारी जति नेताहरु पालेर बस
जो जो अलिअलि काम गर्छन्
तिनलाई कुर्सिबाट फालेर बस
अहमताको पराकाष्ठा देखाएर बस
चिल्ला चिल्ला रोटी सेकाएर बस
तिमी नै हौ सर्वेसर्वा यो देशको
अरुलाई घुँडा टेकाएर बस
चुपचाप छिमेकी रिजाएर बस
जनतालाई चसक्क बिझाएर बस
यो देश तिम्रै बाउको बिर्ता हो
दुनियाँलाई गिज्याएर बस!!
पूर्णबहादुर श्रेष्ठ हृदयङकृत
पनौती ३काभ्रे




















