महान ग्रन्थ हुन् यी

जसका हरफहरूमा सत्य समाहित छ।

झुटाे बाेल्दैन 

बाेले लाखाैकाे हत्या हुन्छ ।


कलिला मष्तिष्ककाे कालिगढ हाे 

यी शिक्षक हुन् ।

 चेतनाकाे मूल बाेकेकाे छ।

छातीभरी देश सिंगार्ने

फूल बाेकेकाे छ ।


केश पाकेर झरिसक्दा पनि

अनुहारमा मुझा परिसक्दा पनि

सिङ्गै राष्ट्र  उठाउने विश्वास बाेकेर कुर्लन्छ ।

रगत राष्ट्रलाई भेटी चढाएकाे गर्वमा

छातीभरी स्वाभिमान उर्लन्छ ।


अज्ञानतालाई बमिट गराएर ज्ञान सिंचन गर्दा

आफू सुकेकाे छ ।

सम्मान र प्रतिष्ठाकाे कुरामा

अति नै चित्त दुखेकाे छ ।


अक्षरहरूले शाेषण गरेर

आँखा धमिलिएकाे छ ।

चस्मा किन्ने अाैकात छैन

त्यसै त्यसै मन अमिलिएकाे छ ।


शान्तिकाे अग्रदुत 

सद्ज्ञानकाे ज्याेतिपुञ्ज हाे

शाश्वत सत्यकाे उपासक

मस्तिष्ककाे सुन्दर वसन्त हाे ।


विकृति विसङ्गतिकाे एटम वम

चेतनाकाे प्रतिपादक हाे ।

विवेककाे उर्वर शक्ति

सत्यकाे महान् साधक हाे ।


यी शिक्षक, आफू निरीह बाँचेर पनि

ज्ञानकाे सच्चा स्राेत हुन्

भनाैं भने शिक्षक नै देशकाे लागि मरिमेट्ने

याैटा महान सपूत हुन् ।

बिनिता सुवेदी दाहाल