काठमाडौँ।आगामी बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ।
मंगलबार राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन्।
शिक्षक आन्दोलनका कारण देशभरका प्रायः शिक्षक तथा कर्मचारी काठमाडौँमा रहेका कारण बोर्डले चाहेर पनि परीक्षा सञ्चालन गर्ने अवस्था नरहेकोले मंगलबार साँझ बोर्डका अध्यक्ष महाश्रम शर्माले बैशाख १२ गतेदेखि हुने परीक्षा बैशाख २१ गतेदेखि हुने जानकारी दिएका छन्।
तर निजामती कर्मचारीको संगठनहरूले शिक्षकहरूको आन्दोलनमा एकवद्धता जनाएका कारण परीक्षामा सामेल हुन नसक्ने जनाएपछि बोर्ड दबाबमा परेको थियो। मंगलबारको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि कर्मचारी युनियनका नेताहरूले परीक्षामा कर्मचारी खटाउने भन्ने कुराको विरोध गरेका थिए।
नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले भनेका थिए, ‘कर्मचारीलाई कक्षा १२ को परीक्षामा खटाउने कुरामा हाम्रो असन्तुष्टि छ।’
एकातर्फ परीक्षा सञ्चालनका लागि कर्मचारीले समर्थन जनाएनन् भने अर्कोतर्फ देशका धेरै केन्द्राध्यक्षहरूले शिक्षक आन्दोलनका कारण परीक्षा सञ्चालन गर्न असमर्थ रहेको परीक्षा बोर्डलाई लेखेका थिए।
कसैले अस्वस्थताका कारण परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै बोर्डलाई लेखेका थिए। भोजपुर दिङ्लामा रहेको षडानन्द माविका प्रधानाध्यापक डम्बरबहादुर विष्टले परीक्षाका लागि अभिमुखीकरण पनि नभएकाले परीक्षा सञ्चालन गर्न नसक्ने प्रतिक्रिया दिएका थिए।
त्यस्तै धनकुटा पाख्रीबासमा रहेको जलपा माविका केन्द्राध्यक्ष निर्मल रिमालले आफू अस्वस्थ भएर उपचारका लागि र शिक्षा ऐनको प्रतिलिपि लिन काठमाडौँ गएको हुनाले परीक्षा सञ्चालन गर्न नसक्ने बताए।
शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघका जिल्ला समितिहरूले प्रधानाध्यापकहरूलाई परीक्षा सञ्चालन गर्न दबाब दिइएकोप्रति आपत्ति जनाएका थिए। महासंघको मोरङ जिल्ला समितिले पनि विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका छन्।




















