काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रहेको छ । प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।

आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ ।

अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा÷आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।



FB_IMG_1744519574580