विराटनगर।काठमाडौं विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले सोमबार कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन् । आजैदेखि नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ
सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० देखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका हुन् ।
सरकारले वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ । शिक्षक महासंघमा कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी–कर्मचारी संघका घटकहरू आबद्ध छन् । महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ । हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने भएको हो । चैत महिना विद्यालयहरूमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको नतिजा प्रकाशनसहित नयाँ भर्ना र शैक्षिक सत्र सञ्चालन गर्ने समय हो ।
२०८० असोजमा पनि शिक्षकले काठमाडौंमा ३ दिन प्रदर्शन गरेका थिए । सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि शिक्षक विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएकाले माग र सहमति ऐनमा समावेश हुने सुनिश्चित नभएकाले आन्दोलन घोषणा गर्नुपरेको आन्दोलनकारी रिता पाठकले बताएकी छन्।





















