इटहरी,इटहरीमा आजदेखि तीन दिने अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ ।एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ सुरु भएको हो। संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रमश्रीले बताए ।
महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाका साथै सांस्कृतिक आदानप्रदान गरिने जनाइएको छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको भनाइ रहेको छ ।
उक्त महोत्सवमा कोरिया, बेलायत, चीनलगायत १३ मुलुकका २० नाट्य संस्थाका ४४ बढी विदेशी रङ्गकर्मी, संस्कृतिकर्मी र कलाकारको सहभागिता रहेको छ ।
महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताएक छन् ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले गरेका थिए । सोही अवसरमा रङ्गकर्मीहरु लेखनाथ चण्डीका निरौला, लोकबहादुर तामाङ, विष्णु डांगीलगायतलाई सम्मान गरिएको हो ।




















