विराटनगर,११ स्थित जनपथ माविको ६१ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थी सम्मानित भएको छ। 

कार्यक्रममा उत्कृष्ट शिक्षकाद्वय यसोदा रेग्मी र  गायत्रा सिटौला  र उत्कृष्ट  कर्मचारीमा इन्द्रबहादुर थापा सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, विराटनगर शिक्षा महाशाखा प्रमुख राम ढुंगेलले उनीहरुलाई सम्मान गरेका थिए । भने विराटनगर १२मा बस्दै आएका सन्देश सुवेदीले गीत गाएर आफ्नो प्रस्तुति दिएका थिए। हालै अवकाश भएका शिक्षकाद्वय चमन श्रेष्ठ र आरती श्रेष्ठलाई सम्मानका साथ विदाइ पनि गरिएको थियो ।  कार्यक्रममा विद्यालयबाट आयोजित खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थीलाई पदक तथा  शैक्षिक सामग्री प्रदान गरी सम्मान गरिएको हो । 

IMG20250202130235

यसैगरी कक्षागत परीक्षामा उत्कृष्ट तीन विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । सो अवसरमा हरि पराजुलीले आफूले प्रधानाध्यापक भए वापत प्राप्त भत्ता रकम जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई प्रदान गरेका छन् । सो अवसरमा विभिन्न व्यक्तिद्वारा  स्थापित अक्षयकोषबाट प्राप्त रकमको गरिव, जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई प्रदान गरिएको थियो  । 

यसरी दिइएको पुरस्कारहरुमा पाँच हजार राशिको त्रिलोक, नगेन्द्रमणि र तीर्थेन्द्र  न्यौपानेद्वारा स्थापित उत्कृष्ट विद्यार्थी नगद पुरस्कार, पूर्व शिक्षक तारानाथ भट्टराईद्वारा एकलाख एक सय ११ नगदको राधिका स्मृति अक्षय कोषको व्याजबाट आउने रकम,  कमल राउतले आफ्ना आमाबाबु कर्ण–मनमाया राउत अक्षयकोषमा राखिएको दुई लाख एक हजार एक सयको व्याजबाट हुने २४ हजार रकम गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गरेको छ ।

यस्तै पूर्व प्रअ बुद्धि सुवेदीले आमाबुबा जय,अम्बिका सुवेदी स्मृति अक्षयकोषको व्याजबाट प्राप्त रकम, पूर्व प्रअ मुकुन्द ढकालको नाममा छोरा रिमेन ढकालले स्थापना गरेको रू १लाख ५ हजारको अक्षयकोषबाट ७ हजार पुरस्कार राशीको छात्रवृत्ति र कृष्ण बस्नेतद्वारा उनको बाबु लालबहादुर बस्नेतको नाममा राखिएको पुरस्कार समेत विद्यार्थीलाई प्रदान गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष त्रिलोक न्यौपाने, चन्दादाता केशव कार्की, अक्षयकोष दाता कमल राउत, पूर्व विद्यार्थी मनोज साह (वन तथा पर्यटन उद्योग मन्त्रालयका अधिकृत) लाई सम्मान गरिएको सहायक प्रधानाध्यापक मनमाया रिजालले जानकारी दिइन् । हाल कक्षा  १ देखि १२ कक्षा पढाइ हुने सो विद्यालयमा हाल एक हजार तीन सय ७५ विद्यार्थी पढिरहका छन् । विद्यालयमा ३५ शिक्षक र ५ कर्मचारी कार्यरत रहेका छन् ।