सुनसरी,हिसान एन्फा सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल कलेज विजयी भएको छ । इटहरी तालतलैयास्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथि १–० गोलले पूर्वाञ्चलले उपाधि हात पारेको हो । पूर्वाञ्चललाई उपाधि जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । उपाधिसँगै पूर्वाञ्चलले नगद ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ । उपविजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैयाँ पाएको छ । भने फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ्चलका सिजल राई घोषित भए । उनले सर्वोत्कृष्ट भएबापत नगद ५ हजार र उच्च गोलकर्ताको ३ हजारसहित ८ हजार पुरस्कार पाए । पूर्वाञ्चलकै सुमित राई बेस्ट गोलकिपर, सक्षम प्रधान बेस्ट मिडफिल्डर र सजिवन राई बेस्ट प्रशिक्षक घोषित भएका हुन्  । सुस्मा कलेजका देवराज श्रेष्ठ बेस्ट फरवार्ड र युसन राई बेस्ट डिफेन्स घोषित भए ।भने उनीहरुले जनही नगद २–२ हजार रुपैयाँ पाएका छन् । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि हिसान केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भट्टराई, सचिव सुभाष लुइँटेल, एन्फा सुनसरी वरिष्ठ उपाध्यक्ष भेषराज कार्की, महासचिव कोबिदजंग कार्की, सदस्य प्रकाश कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) सुनसरी र उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गतेदेखि भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माविहरुको सहभागिता रहेकोे थियो ।