विराटनगर, विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले विराटनगर,१४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गरेको हो । माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।भने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकोले विदेशी लगानी भित्रिन छोडेको बताएका छन् 

उच्च राजश्व दर रेटका कारण विदेशी उत्पादन सँग प्रतिस्पर्धा गर्न नसक्दा पूर्वको औद्योगिक क्षेत्र सोचे अनुसारको अगाडि बढ्न नसकेको सुरानाले गुनासो व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात भइरहेको सामानमा भन्सार राजश्व दर वृद्धि गरिदिँदा स्वदेशी उद्योग आत्मनिर्भर बन्ने धारणा व्यक्त गरेका छन्।

कोशी प्रदेश सरकारले २०८२ सालमा आयोजना गर्न लागेको लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनलाई नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले सहयोग गर्ने जानकारी दिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन नीति बनाउनु पर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वदेशी उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ नेपालमा उत्पादन नभएसम्म औद्योगिक क्षेत्र अगाडि बढ्न नसक्ने बताएका छन्। भने विराट एक्स्पोका संयोजक भोलेश्वोर दुलालले ४ देशमा २ सय ६८ स्टलबाट औद्योगिक एवं व्यापारिक सामानको विक्री र प्रचार–प्रसार भइरहेको बताए ।