विराटनगर,उद्योग संगठन मोरङले विराट एक्स्पो भव्य आयोजनाका लागि अग्रजसँग छलफल गरेका छन् । संगठनले माघ ११ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ को आयोजना गर्न लागेको हो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आयोजना गर्न लागेको विराट एक्स्पोको निर्माणाधिन डोम र स्टलमा देखिएको कमी कमजोरी र त्यसलाई सच्याएर अगाडि बढ्ने उद्देश्यका साथ छलफल कार्यक्रमको आयोजना गरेको बताएका छन् ।
मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष सुरेश शर्मा, नन्दकिशोर राठी, शंकरलाल अग्रवाल, अध्यक्ष अनुपम राठी, बरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल, मुकेश उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यसमिति सदस्य एवं राजश्व समितिका सभापति देवकिनन्दन अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, उद्योगी श्रवण अग्रवाल छलफलमा सहभागि थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, दिपक अग्रवालले छलफलमा सहभागिता जनाएका संघ–संस्थाका पदाधिकारीदेखि अग्रजहरुलाई स्वागत गरेका थिए । संघसंस्थाका पदाधिकारी र समाजका अग्रजहरुले विराट एक्स्पो २०२५ को निर्माणाधिन २ सय ६८ वटा स्टलको अवलोकन गरेका थिए ।भने विराट एक्सपो भव्य आयोजनाका लागि आयोजक उद्योग संगठन मोरङका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन सहित गरेका थिए । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष सुरेश शर्माले उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पोको भव्य एवं ऐतिहासिक तयारी देखेर आफु आश्चर्य चकित भएको बताए ।
मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नन्दकिशोर राठीले २०७९ सालमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न भएको र २०८१ सालमा आयोजना गर्न लागेको विराट एक्स्पो त्यो भन्दा भव्य रुपमा सम्पन्न गर्न गरेको तयारीप्रति आफु उत्साहित रहेको बताए ।
नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले विराट एक्स्पोले वैदेशिक पलायनलाई रोक्न सक्ने गरी सिप मुलक कार्यक्रम सञ्चालन गर्न उद्योग संगठन मोरङलाई सुझाव समेत दिएका थिए ।




















