ताप्लेजुङ,सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय चौरानब्बे मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित हुनको साथै चिसो बढेको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिएका छन्। यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई समस्या भएको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि यसले केही राहत पुग्ने किसानहरुले खुसी व्यक्त गरेका छन् । केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन निकै बढ्ने गरेको छ ।




















