काठमाडौँ ,बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी १३ वर्षका मात्र थिए। सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । भने कमला घिमिरे करुणा राई र गोविन्द पौडेलको श्वर रहेको वरको छायाँले बोलको गीतमा सचिनले राजेश हमालसँग अभिनयसमेत गरेका छन् । त्यस्तै सचिनको श्वर र अभिनय रहेको ओठ खोलेर बोलको गीतको म्युजिक भिडियो झन्डै २ करोड पटक हेरिएको छ । त्यस्तै उनले अस्मिता अधिकारीसँग के छ र हजुर बोलको गीतसमेत गाएका थिए । केही वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चासमेत भइरहेको थियो । उनका बुवा तेजेन्द्र परियारले सचिन बिरामी रहेको र उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका  उपचारका संलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । त्यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो । यस्तै करिब ६ महिनाअघि टिचिङमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पछिल्लो समय भने उनी संक्रमणका कारण भर्ना भएका थिए । अस्पताल भर्ना गर्दा उनी सेप्टिक सकमा थिए । त्यसको उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो ।