काठमाडौँ ,कुनै समय एउटै पार्टी नेकपा (एमाले)मा रहेका नेता वामदेव गौतम र डा. भीम रावल अहिले फरक धारमा उत्रिएका छन् । २०७८ सालमा एमालेसँग विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा एमालेमै बसेका रावल र दुवै पार्टीमा नलागेर छुट्टै अभियान चलाएका गौतम अहिले पनि अलगअलग मुडमा छन् । पछिल्लो समय गौतम नेपाल नेतृत्वको एकीकृत समाजवादीमा भित्रिन आतुर परेका छन् भने रावल एमालेको कारबाहीपछि अलग्गै पार्टी घोषणा गर्ने तयारीमा जुटेका छन् । डा. रावलले आउँदो बुधबार एमालेमा रहँदा भोगेका अप्ठ्यारा र भावी कार्ययोजनाबारे जानकारी गराउँदै तयारी गरेका हुन् । त्यसका लागि उनले पत्रकार सम्मेलनको आयोजना गर्ने टुंगो गरिसकेका छन् ।भने पत्रकार सम्मेलनमा रावलले एमालेभित्रका विकृति विसङ्गति तथा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीको भण्डाफोर गर्ने तयारी छ । त्यसपछि उनी देश दौडाहामा लाग्ने बताए।
तत्कालै रावलले पार्टी घोषणा नगरेपनि अन्ततः उनी पार्टी घोषणाको तयारीमा छन् । तत्काल नभएपनि पछि पार्टी घोषणा हुन्छ।रावल निकट दीपेन्द्र खत्रीले भने।केही समयको अभियानपछि मात्र पार्टी घोषणा गर्नेबारे छलफल भइरहेको छ । रावलले आफ्नो पार्टीको नाम कम्युनिस्ट शब्द विनाको हुने आफू निकटस्थहरूलाई बताउने गरेका छन् । तर, पार्टीको नीति र विचार सिद्धान्त कार्यक्रमबारे उनले केही खुलाएका भने छैनन् । एमालेको कारबाहीपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले आन्तरिक भेटवार्ता र छलफललाई तीव्रता दिइरहेका छन् । सोमबारमात्रै उनले सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशी र नेपाली कांग्रेस बिपीका उपसभापति कर्ण मल्ललाई भेटेर नयाँ पार्टीबारे छलफल गरेका थिए। मल्लसँग भेटवार्ता गरेका रावलले गैरकम्युनिस्टलाई समेत नयाँ पार्टीमा समेट्ने र सोहीअनुसार आफू पार्टी निर्माण गर्न लागेको बताएको स्रोतले जानकारी दिएको छ। रावलसँगको भेटपछि मल्लले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । छलफल गर्दै सहकार्य गर्ने अवस्थासम्म पुग्न सकिने देखिन्छ।मल्लले भने स्वाभिमानको लडाइँ लडिराख्ने र सैद्धान्तिक रूपमा विचलित हुनुहुन्न भनेर आवाज उठाइराख्नेलाई निमिट्यान्न पार्न निकालिएका मान्छेहरू सबै एकै ठाउँमा हुने सम्भावना छ ।मल्ल कांग्रेसबाट निकालिएका हुन् । मल्लसँगै एकीकृत समाजवादी निकट स्वतन्त्र सांसद तारा जोशीले पनि रावललाई सघाउने संकेत गरेका छन् ।




















