दैलेख, भैरवी गाउँपालिका १ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ।भने अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका- १ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।
चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो। ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले जानकारी दिएका छन् । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका- १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको हो। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त रहेका छन् ।




















