काठमाडौँ,नेकपा एमालेको साधरण सदस्य बाट निष्कासनमा परेका नेता भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयले बिचलित नहुने बताएका छन्। बुधबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको हो। निर्णयलगत्तै देशसञ्चारसँग कुराकानी गर्दै रावलले अध्यक्ष ओलीको चाहनामा भएको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीतापूर्ण भएको टिप्पणी गरेका हुन्। उनले ओलीको यस्तो निर्णयबाट आफूलाई कुनै असर नगर्ने जानकारी दिएका छन्। आफूले ओलीले गरेका संविधान र राष्ट्रहित विपरीतका कामको विरोध गरेकाले आफूमाथि कारबाही गरिएको आरोप लगाए। तीन वर्षअघि चितवनमा भएको महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएकोमा आफूमाथि त्यसको रिस फेरिएको उनको भनाइ रहेको छ।




















