मुगु ,मुगुस्थित पूर्वी मुगुम कार्मारोङ गाउँपालिका-२ मुगु गाउँका स्थानीयले पालेको झोवा चौंरीहरू अज्ञात रोगले वन क्षेत्रमै धमाधम मर्न थालेका छन् । मुख र नाकबाट र्‍याल आउने, दिसामा रगत देखिने श्वासप्रश्वासमा समस्या हुने जस्ता रोगको लक्षणका कारण करिब ६० चौंरी वन क्षेत्रमै मरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताएका छन् । मुगु गाउँका स्थानीयले छापाखोला भन्ने स्थानमा चौंरी चराउन लगेको र उक्त स्थानमा अज्ञात रोग फैलिँएकाले चौंरी मरेको अध्यक्ष लामाले जानकारी दिए । अघिल्लो वर्ष तिब्बतमा यस्तै रोगले चौंरी मरेको भन्ने खबर सुनेका थियौं।अध्यक्ष लामाले उल्लेख गर्दै त्यस्तै रोगमा मुगुम्क देखा परेर चौंरी मर्न थालेको हो। एउटा चौंरीको मूल्य ८० हजारदेखि एक लाख रुपैयाँसम्म पर्ने भएकोले स्थानीयको ठूलो क्षति भएको अध्यक्षले जानकारी दिए । मुगु गाउँमा अज्ञात रोगका कारण पहिलो पटक यति ठूलो संख्यामा चौंरीको क्षति भएपछि अहिले स्थानीय चिन्तित भएका छन् ।‍ मुगु गाउँका करिब १२० घरपरिवारको मुख्य पेशा चौंरी पाल्ने र एक घरमा न्यूनतम ५ देखि अधिकतम ४० वटा चौंरी रहेको छ । विशेष गरेर तिब्बतबाट खाद्यान्न ढुवानी गर्न मुगु गाउँका स्थानीयले चौंरी पाल्ने गरेका छन् । धमाधम चौरी मर्न थालेपछि कार्मारोङ गाउँपालिकाले पहिलो पटक पशु चिकित्सकको टोली खटाए पनि रोग पत्ता लगाउन नसकेर उक्त टोली फर्किएको छ । दोस्रो पटक औषधि सहित पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भीमचन्द बुढा सहितको सात जनाको पशु चिकित्सक टोली पठाइएको गाउँपालिकाका अध्यक्षको भनाइ रहेको छ। हिमपातका कारण पशु चिकित्सक टोलीलाई पनि चौंरी मरेको स्थानमा पुग्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।