विराटनगर,आर्थिक लेनदेनको विषय विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन्। बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो । मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिएका छन् । मोरङको जहदा गाउँपालिका ३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताएका हुन् । कामतले दिएको ५ लाखको चेक भाउन्स भएपछि कात्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको भएपनी हाल सम्म पक्राउ गरेको थिएन । बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाअध्क्षमा निर्वाचित भएका थिए । उनलाई उजुरी दिने जहदा ३ का वडा अध्यक्ष पनि जसपाबाट निर्वाचित वडा अध्यक्ष हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अदालतमा उपस्थित गराई थप अनुसन्धानको पाटोलाई अगाडी बढाउने मोरङ प्रहरीले जनाएको छ ।




















