छ गते बिहान
(वशन्ततिलका)
डुल्दै थिएँ वतन छेउ कुनै गरामा
छन् दृश्य हेर्छु दिनहूँ वन कन्दराका
चुप्चापथे अघि चरा वनमा कराए
मैना चरी गगन मार्ग लिए हराए ????
१
खेल्दै थियाेकि भुइँमा बचराे बसेकाे
सानै थियाे वन तिरै टहली रहेकाे
बच्चाे नवीन रङ प्वाँखहरू नखाेली
चीँ चीँ सिवाय उसकाे सुनिएन बाेलि ????
२
एक्लै थियाे नजिकमा थप देखिएन
उस्का कुनै सदय बंशज भेटिएन
उड्ला भनेर म पुगेँ उसकै समीप
हेरी रहन्छ म तिरै बिचराे रमीत????
३
कालाे ढुलुक्क पिलपत्र सरी चुचाेछ
देखिन्छ गाछ तल पुच्छर चैँ बुचाेछ
तत्काल छेउ म गएर उठाइ ल्याँएँ
पालन् गरेर अहिले अति नै रमाएँ ????
४
ताेतेछ बाेलि उसकाे तनया समान
सन्तान झैँ छ अहिले घरकाे जहान
मान्छेजसाे मसँग बाेल्दछ एक एक
आई रहन्छ मनमा सदयी विवेक ????
५
काहीँ गएर घर आँगन आइपुग्दा
भन्नेछ शैशवसरी विधियुक्त तुक्का
आयाेगयाे कुनकता सब भन्न सक्ने
बाेलेर कत्तिपनि ऊ बिचरा नथाक्ने????
५
हुर्के र तागत पसे र भयाे जवान
मैना थिएन घरमा छ गते बिहान
सम्झन्छु बात सँगमा दिनहूँ गरे झैँ
लाग्दैछ आज रुखबाट स्वयं झरे झैँ????
६
लाैराे छ हात जहिल्यै सँगमै रहन्छ
हे वृद्ध आज म छु है सजिलै कहन्छ
बस्तैछु बास घरमै जिउ थर्थरी छ
सिट्ठाेछ ज्यान उसकै भर पर्नु पर्छ????
७
देखिन्न आज घरमा अति प्रेम गर्ने
यौटै थियाे मन बुझाउन साथ पर्ने
छाेराे बसेन घरमा नत श्रीमतीछन्
मैना समेत अब क्वै पनि ञाँ रहेनन्????
८ दुर्गाप्रसाद सिग्देल
२०८१/७/२७ बिर्तामाेड - झापा




















